सम्पर्क

पाँचपोखरी थाङपाल र बनेपा बिच सम्बन्ध बिस्तार

देबराज सुबेदी ,    पाँचपोखरी थाङपाल गाउँपालिका र बनेपा नगरपालिका बिच सम्बन्ध बिस्तार तथा भेटघाट कार्यक्रम  पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको निमन्त्रणालाई स्विकार गर्दै आइतबार बनेपा नगरपालिकाको जनप्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी लगायतको टोली पालिका प्रवेश गरेको थियो । बनेपा बाट आएको टोलिलाई गाउँपालिकाका अध्यक्ष टासी लामा।उपाध्यक्ष सुनिता अधिकारी लगायतले स्वागत गर्नुभएको थियो भने पालिकाको विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गराउनुभएको थियो । पालिकामा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष टासी लामाले गाउँपालिकाले विगत देखि वर्तमानसम्म भएगरेका काम, आगामी योजना,सम्भावना र चुनौतीहरु प्रस्तुत गर्नुभयो । उहाँले पालिकाको विकास निमार्णका लागी यस्ताखाले कार्यक्रमले टेवा पुग्ने विश्वास ब्यक्त गर्दै आतिथ्यका लागी धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा आफ्नो भनाई राख्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सम्बन्ध विस्तार गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले अब जोडेको सम्बन्धले आगामी दिनमा केहि नयाँ गर्नै पर्छ भन्ने मनोभावना आएको बताउनुभयो । प्रमुख शाक्यले यहाँ भएका प्राकृतिक स्रोतहरुलाई उपयोगमा ल्याउने हो भनेमात्रै पनि यहाँको विकासमा आर्थिक हिसाबले टेवा पुग्ने बताउनुभयो । पाँचपोखरीमा ढुंगाको पर्याप्त सम्भावना रहेको भन्दै उहाँले अब आदानप्रदान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । शाक्यले बनेपा भ्रमणको निमन्त्रणा गर्दै त्यहाँका पनि केहि कुराहरू सिकाइ हुनसक्ने बताउनुभयो । उहाँले शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा नगरपालिका सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । उपप्रमुख बिमला सापकोटा दहालले अनुभव आदानप्रदान गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले यहाँको अवलोकन पछि आफुहरुलाई कामगर्नको लागी निकै चुनौती थपिएको बताउनुभयो । उहाँले यहाँ देखेका र सिकेका कुराहरू आफुहरुको लागी सिकाइ भएको उल्लेख गर्दैे भुगोलको हिसाबले विकट भएर पनि यहाँ भए गरेका कामले खुशी लागेको बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी,बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाँई लगायतले सम्बन्ध विस्तारले खुशि लागेको बताउनुभयो । कार्यक्रममा एक अर्का पालिका बिच मायाको चिनो आदानप्रदान समेत गरिएको थियो ।