सम्पर्क

प्रेस काउन्सिल नेपाल द्धारा जथाभाबी समचार नलेख्न अनुरोध

प्रेस काउन्सिल नेपालले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका बीभत्स तस्बिरसहितका अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न÷नगराउन भनिएको छ ।‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । गएराती ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्द्र बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भुकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।