कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक जिल्लाकोे बाह्रबिसे नगरपालिका – ५ सिरिसेमा बुधबार सुख्खा पहिरो खस्दा पुर्णरुपमा अबरुद्ध भएको अरनिको राजमार्ग खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ ।
बिहिबार बाह्रबिसे नगरको पहलमा पहिरो पन्छाउन सडक बिभागको एक्स्काभेटर, लोडर प्रयोग गरिएको थियो । काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र यात्रु सास्ती व्यहोर्न बाध्य बनेका थिए ।
बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले झन्डै पाँच सय मिटर माथिबाट डरलाग्दो गरी आएको पहिरोले सडक ठप्प भएलगत्तै खोल्न आफूसहित सम्पूर्ण जनप्रतिनिधि खटिएको बताउनु भएको छ । बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो ।
पहिरोदेखि झन्डै ५० मिटर उत्तरतर्फ रहेको गाँउका ४ वटा घर पहिरोको जोखिम देखिएपछि ती स्थानीयलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको मेयर बस्नेतले जानकारी दिनुभयो ।
