जिल्ला प्रहरी कार्यालय चौताराको आयोजनामा सदरमुकाम चौतारामा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार जिल्ला प्रहरी निरीक्षक हरिबोल केशीको अध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।
गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयले गरेका गतिबिधि र प्रहरीसंग आएका उजुरीका बिषयमा कार्यक्रममा जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयले बालबालिकालाई कुलतमा लाग्न निरुत्साहित गर्ने उदेश्यले जिल्लाका बिभिन्न बिद्यालयमा सचेतनामूलक कक्षाहरु संचालन गरेको जिल्ला प्रहरी निरीक्षक हरिबोल केशीले जानकारी दिनुभयो । यस्तै आत्महत्याको अवस्था सिन्धुपाल्चोकमा डरलाग्दो रहेकाले यसको निराकरणका लागी सबै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा प्रहरीको जोड छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शिव श्रेष्ठले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताउनुभयो ।
समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उहाँको भनाई रहेको थियो ।
वडा–५ को कार्यालय भवनमा आयोजित कार्यक्रममा पूर्व माननीय कृष्ण राज श्रेष्ठ, वडासदस्यहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
