सम्पर्क

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उदघाटन

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दक्षिणकाली नगर अस्पतालको उदघाटन गर्नुभएको छ । दक्षिणकाली नगरपालिका – १ चाल्नाखेलमा निर्माण भएको दक्षिणकाली नगर अस्पतालको शनिबार एक समारोहबिच उदघाटन गर्नुभएको छ । वि.सं २०७१ देखि स्वास्थ्य चौकीको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नति गरि नगर अस्पताल बनाइएको छ । अस्पताल उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको जनशक्तिको अभाव रहेको जानकारी गराउदै नवनिर्मित अस्पतालमा छात्रवृतिका डाक्टर पठाएर भए पनि चिकित्सकको अभाव हुन नदिने बताउनुभयो । उहाँले यो क्षेत्रमा मिर्गौलाका विरामीको संख्या बढेको पाइएकाले तत्कालै डायलासिसका लागि ३ वटा मेसिन तत्काल स्वास्थ्य मन्त्रालयले पठाइदिने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले दक्षिणकाली नगर अस्पतालको सुधारका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सधै सहयोग गर्ने बताउनुभयो ।
चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले न्याम्सले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्न महिनामा १ पटक वा २ पटक विशेषज्ञ पठाएर भए पनि सेवा दिन आफूले सक्ने सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जनताको चाहना अनुसार अस्पतालले आफ्ना सेवा सुधार र विस्तार गर्दै लैजाने बताउनुभयो । कार्यक्रम नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री राजेन्द्र केसी,पुर्व मन्त्री दिपक बास्कोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन लगायतले अस्पताल स्तरोन्नति भएकोमा खुशी व्यक्त गर्दै यसको प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्नेमा जोड दिनुभयो ।