सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । गत २०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको स्थानीयले बताउनुभएका छन् । बुधबार नेपाली सेनाको प्राविधिक टोलिले प्रारम्भीक अध्ययन गरेको छ ।
चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो । सांसद तामाङले अब बेलिब्रिज निमार्ण प्रक्रिया तत्काल अगाडी बढ्ने बताउनुभयो । यस भेगको समस्यालाई मध्यनजर गर्दै विगत धेरै लामो समयदेखिको प्रयास अब सफल हुन लागेको उहाँले दावि गर्नुभयो ।
उहाँले प्रारम्भिक निरीक्षण तथा नापजाँचको क्रममा बेलिब्रिज निर्माणको जिम्मेवारी लिनुभएको नेपाली सेनाको टोलिलाई मेलम्ची खोलामा बेलिब्रिज अहिले अति आवश्यक रहेको र अब बर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाडो कार्य सम्पन्न गर्नका लागी आग्रह गर्नुभयो ।
महासेनानी (कर्णेल) इश्वर बुढाथोकीले यो कार्यगर्न केही चुनौती रहेपनी अबको केही समय भित्रै बेलिब्रिज निर्माण हुने र जतिसक्दो चाडो कार्य सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मेलम्ची पारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निमार्ण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दुरीको रुटको रुपमा समेत यो सडक प्रयोग हुँदै आएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत ,र बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर)को पहल, निरन्तर प्रयास र लामो समयको मेहनतपछी मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नको लागि नेपाल सरकारको अर्थ मन्त्रालय र भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारीदिए सङ्गै नेपाली सेनाको इन्जिनियरिङ बिभाग,१४ नम्बर बाहिनी अड्डाबाट महासेनानी (कर्णेल) इश्वर बुढाथोकीको नेतृत्वमा आएको टोलीले बुधबार अध्ययन सर्वेक्षण गरेको हो ।
