सम्पर्क

ह्योल्मोको पहुँच अमेरिकादेखी यूरोपसम्म

धेरैलाई खाडीमुलुकको यात्रा सपना बनिरहँदा ह्योल्मो समुदायलाई अमेरिका र यूरोप पानी पँधेरो बनेको छ । रोजगारीको खोजीमा सुन्दर पर्यटकीय गाउँ हेलम्बूबाट विदेशिएकामध्ये झण्डै आधा अमेरिका , यूरोप, कोरिया , जापानलगायत विकसित मुलुकमा कार्यरत् छन् ।
स्थानिय शिक्षक तोया गौतमले गाउँबाट ६ सयभन्दा बढी युवायुवती विदेशमा रहेको बताउनुभयो । करिब ५० प्रतिशत ह्णेल्मो अमेरिका , यूरोपलगायत विकसित मुलुकमा कार्यरत रहेको तिन दशकदेखी त्यहाँ कार्यरत गौतमले बताउनुभयो ।
ह्ेलम्बू चर्चित पर्यटकीय गाउँ हो । लाङटाङ पदयात्राको मुख्य आकर्षण हेलम्बूमा धेरै अमेरिकी र यूरोपेली आउने भएकाले उनीहरुकै सँगत र बसउठको प्रभाव र आकर्षणले ह्योल्मोले अमेरिका र यूरोपका मुलुकमा सहज पहुँच कायम राखेमा गौतमको ठम्याई छ ।
सुरुमा पुगेकाले आफन्त दर इष्टमित्र तान्दै जाँदा साढे ३ सय हाराहारीमा ह्योल्मो युवायुवतीको रोजगारीको पहिलो गन्तब्य अमेरिका , यूरोपलगायत विकसित मुलुक बनेको हो । विकसित मुलुकसँग स्थापित पहुँच र आकर्षणले हेलम्बू सुनसान बन्दै गएको छ । यहाँको मुख्य बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, नाखोते, घ्याङगुल क्रमशः पातलिँदै छन् । युवायुवती देख्न मुस्किल भइसकेको गाउँमा बृद्धबृद्धा र बालबच्चा मात्र छन् ।
आलु, कोदो र गहँुमात्र उत्पादन हुने हिमाली गाउँ हेलम्बूवासीको दैनिकी सहज बनाउने प्रमुख स्रोत रेमिट्यान्स भएको छ । गाउँमा महिनामै ६ करोड रुपैयाँ रेमिट्यान्स भित्रने अनुमान छ । दशैं, तिहार, ल्होसारजस्ता चाडबाडमा रेमिट्यान्स बढेर महिनामै १२ करोडसम्म पुग्ने गौतम बताउनुहन्छ ।
हिमाली जग्गाको उब्जनीले तीन महिनाभन्दा बढी खान पुग्दैन । अर्का शिक्षक पूर्णबहादुर गौतमका अनुसार सुरुमा फाट्टफुट्ट भारत र खाडी मुलुक निस्कने चलन रहेपनि अमेरिका , यूरोपको यात्रा सुरु भएको भर्खर दुई दशक बित्दैछ । साउदी , अरब, मलेसिया लगायतका खाडी मुलुकमा पुग्ने ह्योल्मो पनि कम छैनन् । हेलम्बूको तार्केघ्याङ गाउँमा १ सय १३ परिवार बस्छन् । यो गाउँका ७ सयमध्ये ३ सयजति विदेश छन् । एकै परिवारका नौ जनासम्म वैदेशिक रोजगारीमा रहेको स्थानिय वाङ्दी शेर्पाले बताउनुभयो । ८० घरधुरी रहेको नाखोते गाउँका १ सय ७० बढी युवायुवती विदेश पुगेका छन् । अर्को गाउँ मेलम्चीघ्याङका १ सय १० घरमध्ये विदेशमा परिवार रहेको परिवारको सँख्या १ सय छ ।
स्थानिय वैदेशिक रोजगारीमा गएपछी हेलम्बूबिस्तारै फेरिँदै छ । टोल –टोलमा सडक सञ्जालले जोडेको हेलम्बुले पछिल्लो समय अर्को परिचय पनि थपेको छ –गुम्बाहरुको सहर । गाउँमा साना –ठूला गरी झण्डै तीन दर्जनको सँख्यामा आकर्षक गुम्बा , माने र स्तुपा बनेका छन् । अशिक्षित ह्योल्मो समुदाय बस्ने गाउँ भनिने हेलम्बूको टोलैपिच्छे चिटिक्क परेका विद्यालय बनेका छन् । मुलुकमै ख्याती कमाएको मेलम्चीघ्याङ मावी यहीँ छ । विकासका यी पूर्वाभार तयार हुनुको पछाडी एउटै कारण छ –रेमिट्यान्स ।
राजधानीबाट हेलम्बूसम्म नियमित गाढी चल्छ । गाउँको शैक्षिक र सामाजिक विकासमा रेमिट्यान्सले महत्वपूर्ण योगदान पूर्याएको छ । मेलम्चीघ्याङ मावीका प्रधानाध्यापकसमेत रहनुभएका पूर्णबहादुर भन्नुहुन्छ –गाउँको विकासमा विदेशमा रोजगारी गर्ने हेलम्बूवासीले ठूलो योगदान पु¥याएका छन् ।