काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताउनुभयो । मन्त्रालयका समस्या समाधानका लागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु । सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, सूर्तिजन्य पदार्थमा कर बढाऔ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनूदान दिऔ । सूर्तिजन्य पदार्थको करबाट उठने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गर्नुभएको छ । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति रहेको बताउदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिव ४० प्रतिसतले कटौती हुन लागेको बताउदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिनुभयो ।
