सम्पर्क

सार्वजनिक पदधारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउनुपर्ने

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्र्नेे निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।
सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयो । संस्थागत विद्यालयहरूमात्रै गुणस्तरीय हुन्छन् सामुदायिक विद्यालय राम्रा हुँदैनन् भन्ने अब भ्रमलाई त्याग्नुपर्ने लामाको भनाइ छ ।
सार्वजनिक पदधारण गरेका सबैको सन्तान सात दिनभित्र साुमदायिक विद्यालयमा भर्ना गरेर त्यसको जानकारी गाउँपालिकालाई गर्न समेत सबै सामुदायिक विद्यालयहरुलाई गाउँपालिकाले परिपत्र गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको संख्यासमेत कम हुँदै गएपछि सरकारी तलब खानेहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको थियो ।