सम्पर्क

परम्परागत खेलहरू विर्सदै बालबालिका

मेलम्ची नगरपालिका– ९ ज्यामिरेका गोपाल भुजेल सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ । ‘पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु, सानो हुँदा साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा थिए ।
गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेल्ने गरेको उहाँले सुनाउनुभयो ।
बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । ७० वर्ष पार गर्न लाग्नुभएको उहाँ बाकचाल भने आजभोली पनि साथि जम्मा गरेर खेल्नुहुन्छ । उहाँभन्नुहुन्छ, ‘बुढेशकालमा काम गर्न सकिदैन । आफुजस्तै साथीहरु जम्मा गरेर खेल्छु, समय त कटाउनै पर्यो नी ।’
यी र यस्ता परम्परागत खेलहरु बालबालिकाले विर्सदै गएका छन् । आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै परम्परागत खेलहरूमा बालबालिकाको आर्कषण घटेको छ । पुराना खेल संरक्षणका लागि स्थानीय सरकारले समेत कुनै कदम चालेको पाईदैन ।
‘युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे । पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो,’ विनोद गिरी भन्नुहुन्छ, ‘शारीरिक कसरत खेल्दा हुन्थ्यो, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।’
उहाँकाअनुसार त्यतिबेला साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेलको बारेमा कसैलाई जानकारी नै थिएन ।
आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल नहुने उहाँले बताउनुहुन्छ । शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको छ । मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहँुदा वचपनमै विभिन्न रोग लाग्ने गरेको र बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उहाँको भनाइ छ ।

ज्येष्ठ नागरिक भुजेल र गिरीका अनुसार स्थानीय सरकारले पाठयक्रममा पुराना खेललाई समेटेर अरु खेलझै पूरा खेल खेल्ने तरिका सिकाएर विद्यालयमा खेलाउन आवश्यक छ । होइनभने, बूढापाकासँगै पुराना खेल सकिने उहाँहरुको तर्क छ ।