सम्पर्क

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्किएको छ ।
भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनर्निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रंगिन ध्वजापताकाले सिंगारिएको सिंगो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पती र वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जाउलाखेल ललितपुरका विपुल शाक्य यहाँको सौन्दर्य देखेर छक्कै पर्नुभयो । राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आईपुग्नुभएका उहाँले आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दंग पर्नुभएको थियो ।
भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको धार्मिकस्थलको ग्राउन्ड जिरो बनायो । पुनर्निर्माणमा आएका विविध समस्यालाई यहाँका स्थानीयको एकताले समाधान बनाएपछि अहिले माने, गुम्बा ठडिएका छन् । पदयात्राका क्रममा बाटैभरि ध्वजापताका, गुम्बा, माने देखेर आफू रमाएको शाक्यले बताउनुभयो । हेलम्बुभित्रको पनि पर्यटकीय गाउँ शेर्माथाङमा रहेको होमस्टे अनि पाहुनालाई सत्कार गर्ने स्थानीयको शैलीले आफू प्रभावित भएको उहाँले सुनाउनुभयो ।
‘गाउँका मान्छेमा पाप हुँदैन भन्थे, अहिले आफैंले भोग्न पाएँ’, उहाँले भन्नुभयो ‘यहाँको सुन्दरताको वर्णन गर्न मेरो क्षमताले भ्याउँदैन, निकै राम्रो गाउँ रहेछ ।’ उहाँले यहाँको परिवेश, संस्कृति नेपालभित्रकै नमुना हुनसक्ने बताउनुभयो । भूकम्प र कोरोनाले थलिएको पूर्वाधार, धार्मिकस्थलको पुनर्निर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन तंग्रिन थालेको छ । क्षतिग्रस्त बस्ती र धार्मिकस्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिका अन्तर्गतको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको संख्या बढेको हो ।
उहाँसँगै हेलम्बु आईपुग्नुभएका रविन महर्जनले पनि यहाँको बखान गर्नुभयो । एकैनासका ह्योल्मो संस्कृति झल्काउने लहरै उभिएका हरिया घर उहाँलाई अचम्म लागे । ‘यहाँको कृषि क्षेत्र पनि उदाहरणीय लाग्यो’, उहाँ भन्नुहुन्छ, ‘स्याउ फल्छ भन्ने सुनेको मात्रै थिए, अहिले आफैंले त्यसको बोट देखियो । ’ उहाँले यहाँ गरिएको किवी खेती लोभलाग्दो रहेको वर्णन गर्नुभयो । अझै समथर भूभागमा मिलेर बसेको तार्केघ्याङ र मेलम्चीघ्याङ बस्ती निकै सुन्दर रहेको उहाँले बताउनुभयो । ‘हामीलाई एउटै बस्तीमा रंगिन ध्वजापताका र गुम्बाले निकै आकर्षित गरेको छ’, उहाँले भन्नुभयो ।
शाक्य र महर्जन मात्रै हैन, भूकम्पपछिको पुनर्निर्माणले देखिएको सुन्दरता देखेर यहाँ आइपुग्ने पर्यटक मोहित हुने गरेका छन् । गुम्बाको पुनर्निर्माणले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । वार्षिक ३६ हजार पर्यटक हेलम्बु पदमार्ग हुँदै आमायांग्री, मेलम्चीघ्याङलगायत स्थलमा पुग्ने गर्थे । अहिले पूर्वाधार र धार्मिक मन्दिरको निर्माण भएकै कारण दैनिक ४० देखी ५० आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
‘पर्यटकीय पदमार्गका लागि भनेर दिनहुँ १० भन्दा बढी विदेशी पनि आउँछन्, उनीहरूले माथिल्लो क्षेत्र घुम्ने लक्ष्य राखेका हुन्छन्, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो, ‘पर्यटकीय गाउँ हेलम्बुमा गुम्बालगायत अन्य भौतिक पूर्वाधार र आरामदायी बास बस्ने रिसोर्टको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका हुन् ।’ ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइलामा पर्यटक पुग्ने गर्छन् । समुन्द्री सतहबाट तीन हजार सात सय ७० मिटरमा पर्ने आमायांग्री पर्यटकको पहिलो रोजाइमा पर्छ । पदयात्रा रुचाउने प्रायजसो आमायांग्री पुग्ने गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो। यो ठाउँमा पुग्न सवारी साधन पुग्ने स्थानबाट झण्डै चार घण्टा उकालो लाग्नुपर्छ ।
किउलको सेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकका लागि लक्ष्य गरेर बनाइएको होटेल, रिसोर्ट पहिलेकै सुविधासम्पन्न अवस्थामा ल्याइसकिएको छ । दुई दर्जन सडक, बिजुली, खानेपानीलगायत सबै सुविधा एकैसाथ गरिएपछि पर्यटकको रोजाइमा हेलम्बु परेको शेर्पाको दाबी छ ।
हेलम्बुबाट गोसाइकुण्ड पदमार्ग हुँदै पुग्न सकिन्छ । सिमसिसाङ हिमाल, गन्जलापास–लाङटाङ क्षेत्र पुग्ने दुईदिने दुई वटा पदमार्ग बन्दै छ । त्यसैगरी सुन्दरीजल–कुन्टुङसाङ, घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, सेर्माथान–पाल्चोक भगवती, निन्देश्वरी महाकाल–आमायांग्री जस्ता दर्जन पदमार्ग मर्मतको कामसमेत भइरहेको छ ।
ह्योल्मो जातिको पहिचान गुम्बा, गुफा र मन्दिर भएकाले हेलम्बु आउनेको संख्या बढेको छ । पर्यटक आउने क्रम बढीरहेकाले किउल, हेलम्बु भेगका होटेल, रिसोर्ट भरिन थालेको होटल सञ्चालक रोशनी लामा बताउनुहुन्छ ।
‘भूकम्प र कोरोनापछि साम्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, दिनकै धेरैको संख्यामा आउने पर्यटकले यहाँको रिसोर्ट ‘बुकिङ’ बढ्न थालेको छ’, लामाले भन्नुभयो । पूरा हेलम्बुको सुन्दरताबारे जानकारी पाएर यहाँ आइपुगेका पर्यटक बास बस्न तिम्बु झर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय बस्तीका होमस्टे र कला संस्कृतिले पर्यटक लोभिँदै हेलम्बु धाउने गरेको उहाँको भनाइ छ । गाउँपालिकाको पहलमा पूर्वाधार योजनालाई सकेपछि पर्यटकले गर्दा स्थानीयलाई रोजगारी भइरहेको स्थानीय राजकुमार भण्डारीको अनुभव छ । ‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक तानिन थालेका छन् उहाँले भन्नुभयो । हेलम्बुको सुन्दरताबारे जानकार कम्तीमा हप्तादिनको प्याकेज लिएर विभिन्न स्थानमा पदयात्रा गर्ने गर्छन् । रासस