सम्पर्क

शिक्षा सुधार गर्न धुस्कुनमा दुईदिने कार्यशाला सम्पन्न

पृथ्वीजंग पाण्डे / पिस्कर
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका – ३ धुस्कुनको महेन्द्रप्रताप माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न दुईदिने कार्यशाला आइतबार सम्पन्न गरिएको छ । शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि शिक्षामा परिवर्तन ल्याउने उद्देश्यले कार्यशाला गरिएको हो।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले कार्यशालाको उदघाटन गर्नुभएको थियो भने विशिस्ट अतिथि तथा शिक्षाविद बिद्यानाथ कोइराला र स्थानीय अनुभवी सहजकर्ता चक्रबहादुर बस्नेतले कार्यशालामा सहजीकरण गर्नुभएको थियो । महेन्द्रप्रताप माबिका शिक्षक बलराम नेपालले संचालन गर्नु भएको कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष शिवकुमार कार्किको सभापतित्वमा कार्यक्रम भएको थियो । वडा नं. ३ धुस्कुनका ६ वटा विद्यालयको सम्पुर्ण शिक्षकहरु तथा विद्यालय व्यावस्थापन समितिको अध्यक्षहरुको उपस्थिति रहेको थियो । दुई दिने कार्यशालाबाट प्राप्त सुझावलाई धुस्कुन वडा भित्रका सामुदायिक विद्यालय सुधार्नको निम्ति प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक हरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संयोजन महेन्द्र प्रताप माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भण्डारीले गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना र वरिष्ठ समाजसेवी वीरबहादुर भण्डारीको समेत उपस्थिति रहेको थियो ।