\सुख्खा मौसमको सुरुवातसँगै सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोका कारण नष्ट भएको छ ।
जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ को सोपडाडा सामुदायिक बनको ७ हेक्टर, वडा नम्बर –६ को सिता माहादेब सामुदायिक बनको ११ हेक्टर, वडा नम्बर –७ को सिद्धी गणेश सामुदायिक वनको २५ हेक्टर , वडा नम्बर –७ बाजबिसौना मुनि सामुदायिक बनको ३१ हेक्टर जङ्गल डढेलोले सखाप भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका –६ मा रहेको भिरकुना सामुदायिक बनमा ५ हेक्टर , पिपलडाँडा सामुदायिक वनमा २० हेक्टर , वडा नम्बर – १३ को श्रीछाप सामुदायिक बनको १७ हेक्टर जङ्गलमा डढेलो लागेको छ ।
जिल्लाकै सुनकोशी गाउँपालिका वडा नम्बर –३ मा रहेको उखुबारी झिंगेटार कल्लेरी सामुदायिक बनको १५ हेक्टर, वडा नम्बर – ६ को गोल्मे सामुदायिक बनको ३५ हेक्टर, वडा नम्बर –३ को थुम्कीपाखा सामुदायिक बनको ७ हेक्टर जङगल डढेलाके कारण नष्ट भएको डिभिजन बन कार्यलयबाट परिचालित हरित स्वयंसेवक टिमका सँयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायीक वनको २६ हेक्टर जङ्गल पनि डढेलोले सखाप भएको छ ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याँक प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, बन्यजन्तु र करोडौँका रुख विरुवाहरु नोक्सान भएका छन् । वर्षेनी जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको थापाले बताउनुभयो । रासस
