सम्पर्क

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो । अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभयो । उहाँले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिनुभयो । सिंहसहित उहाँका ब्याची आज राति १२ बजेबाट अबकाशमा जाँदै हुनुहुन्छ । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्नुहुने छ ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ मा भीम बहादुर कुँवर र आमा नमकला कुँवरको कोखबाट २०२६ चैत १५ गते जन्मनु भएका कुँबरका श्रीमती लक्ष्मी पराजुली अध्यापन पेशामा आबद्ध हुनुहुन्छ भने उँहाका २ छोरा हुनुहुन्छ । व्यावसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनु भएका कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भगर्नु भएको हो।प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक,दुर्गम सेवा पदकलगायतबाट विभूषित हुनु भएको छ ।