सम्पर्क

सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले शनिबार एक विज्ञप्ती जारी गर्दै संसदको मुल नेतृत्वबाटै यस्तो अभिव्यक्ति आउनु दुःखद भएको बताउनुभएको छ । ’सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ’नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’ संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्न शुक्रवार नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलले सभामुख देवराज घिमिरेसँग भेट गरेको थियो । उक्त भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा भएको बताएका थिए । उक्त अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ । महासंघले तत्कालै उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको समेत जनाएको छ । ’सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने विज्ञप्तीमा भनिएको छ ।