सम्पर्क

जुगल बोर्डिङले मनायो ३३औं वार्षिकोत्सव

सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–५ चौतारा स्थित जुगल बोर्डिङ हाइस्कुलले ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जानै विश्वास व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवकै अवसरमा बोर्डिङले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । गौतम हेलम्बु गाँउपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । चन्द्रयुग महाकाव्यका रचयिता न्यौपानेका ३ दर्जन बढि साहित्यिक कृति प्रकाशित छन् । न्यौपानेका सिर्जना विद्यालयका पाठ्यक्रममा समेत समावेश रहेका छन् । यसैगरी विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विगतदेखि वर्तमान अवस्था र भविष्यका योजना तथा लक्ष्यहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।