सम्पर्क

सुनकोशीमा भएको नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा नगरपालिकालाई

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजना र सुनकोशी गाउँपालिकाको सह–आयोजनामा यही शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको हो । चौताराले २५ स्वर्ण, ६ रजत र १२ कास्य जितेको थियो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक समेत रहेको सुनकोशी गाउँपालिकाले भने ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक जित्दै टिम तेस्रो हुन सफल भएको छ । एथलेटिक्स, तेक्वान्दो, कराते, उसु,महिला र पुरुष भलिबल, कबडी लगायतका खेलहरु प्रतियोगीतामा सहभागी गराइएको थियो ।
विजयी खेलाडीहरु तथा स्थानीय तहलाई वागमती प्रदेशका पुर्व उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल र सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पुरस्कार वितरण गर्नुभएको थियो । जिल्लाका १२ स्थानीय तहका झण्डै ५ सय बढी खेलाडीहरु प्रतियोगीतामा सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरेश रानाले जानकारी दिनुभयो । स्थानीय स्तरमा भएको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेताहरुले जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता गराइएको थियो ।