सम्पर्क

शिक्षक महासंघको समन्वयमा कक्षा ११ को परीक्षा हुने

पृथ्वीजंग पाण्डे
बाह्रबिसे नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको शनिवार होटल जिरोकिलोमा पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष कुमर प्रसाद खतिवडाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सुधार र पेशागत विभिन्न निर्णय समेत गरि कार्यन्वयन गर्ने भएको छ । अध्यक्ष खतिवडाको अनुसार कक्षा ११ को परीक्षा शिक्षक महासंघको समन्वयमा जिल्ला भर एकरुपता कायम गर्दै मर्यादित ढंगले संचालन गर्न चैत ६ गते चौतरामा कक्षा ११ संचालित सबै विद्यालयको प्रधानाध्यापकहरुको भेला राखी अन्तरक्रिया राखिएको छ । कक्षा आठको परीक्षा पालिकाले लिने SEE तयारीको परिक्षा प्र अ समाजले लिने SEE को राष्ट्रिय परीक्षा बोर्ड तथा कक्षा १२ को पनि बोर्डले लिने गरिएकोमा कक्षा ११ को परीक्षा विद्यालयले लिने गरिएको थियो । कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को परीक्षा लिनुपर्ने नियम रहेको छ । विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गरी स्थानीय शिक्षक महासंघ मार्फत पालिका शिक्षा शाखासँग समन्वय गरि परीक्षाको अनुगमन समेत गरिने भएको छ । जिल्ला भर एउटै मुल्यांकन बिधी मार्फत जि पि ए मा नतिजा तयार गरिने र टप टेन विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिने छ । सिन्धुपाल्चोक जिल्लामा चैतको पहिलो हप्ता कक्षा १–९ को परीक्षा लिने तालिका स्थानीय तहले निकाली सकेका छन । त्यसैगरी सिन्धुपाल्चोक जिल्लामा शिक्षक सेवा आयोगबाट सिफारिस भएका माध्यमिक तहमा ३९ जना र निम्न माध्यमिक तहमा ३१ जनाको पदस्थापन समेत भएको छ । प्राथमिक तहमा माग संख्या भन्दा कम सिफारिस भएकोमा जिल्लामा जति प्रतिशत घटेर आएको छ,त्यति नै प्रतिशत स्थानीय तहमा घटाएर रोज्न लगाइ पठाउन सिफारिस गर्ने महासंघले निर्णय गरेको छ । शिक्षक महासंघको पदेन सदस्यमा नेपाल राहत शिक्षक समितिको प्रतिनिधि ,प्रविधिमैत्री शिक्षक समाजको प्रतिनिधि ,बालबिकास र विद्यालय कर्मचारीको प्रतिनिधिलाई समेत समेट्ने निर्णय भएको छ । बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष मैया पौडेल ,एकीकृत शिक्षक संगठनको जिल्ला अध्यक्ष राजकुमार यादव लगायत स्थानीय शिक्षक महासंघ अध्यक्षहरुको समेत उपस्थिति रहेको जिल्ला सचिव उद्दव प्रसाद पौडेलले बताउनु भयो ।