भोटेकोशी गाउँपालिका–२ तातोपानीमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सिपमुलक चाउमिन बनाउने ४ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको आर्थिक सहयोग र बलेफी एकीकृत अपांगता समाजको आयोजनामा सिबिआर कार्यक्रम अन्तर्गत गत फागुन २३ गतेबाट सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भोटेकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर बस्नेतले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रूपका सिकेको सीपसम्बन्धी काम गर्न आग्रह गर्नुभयो । चाउमिन तालिमको समापन कार्यक्रममा भोटेकोशी गाउँपालिका – २ का वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले अपांगता भएकाको आत्मबल बढाउदै स्वरोजगार बनाउने तर्फ उन्मुख गर्ने तालिमको उद्देश्यले तालिम प्रदान गरेको बताउनुभयो ।