सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेमा पर्ने ओखरेनी डाँडा पछिल्लो समय पर्यटकको आकर्षक गन्तब्य बन्दै गएको छ ।
समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको अद्भूत सौन्दर्य स्थल ओखरेनीलाई भूकम्पपछिको पुनर्निर्माणले बनेको बस्तीले थप सुन्दर तुल्याएपछी आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ ।
बौद्धमार्गीहरुको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा, स्तूपाले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ । बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन । अझै, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ । पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् यो आकर्षक पर्यटकीय गन्तव्य हो ।
प्राकृतिक दृश्यपानका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद लुट्न पाइने ओखरेनी हिमाली गाउँ हो । बजारमा पाइने मलहरु पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै हैन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ धान ९ महिनामा मात्रै पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेंसी झर्ने गर्थे । यहाँ आउने जंगली बँदेलले दुःख दिन थालेपछि किसानहरुले आलु, मुला लगाउन बिस्तारै छाड्न थालेका छन् । “त्यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ,” गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्नुहुन्छ,“गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।”
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिजहरु मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयले अन्य बालीको विकल्पमा किबी रोजका हुन् । “यहाँको हावापानी अनुसार किबीको उत्पादन राम्रो हुने देखियो,” शान्तिले भन्नुभयो, “गाउँपालिकाले किबी पकेट क्षेत्र घोषणा गरी किबी खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।’
ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ । “अब हामी होमस्टेको तयारीमा छौं” पदमबहादुर लामा भन्नुहुन्छ, “हामी कर तिर्छौैं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।” उहाँले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताउनुभयो ।
आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौंबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौंको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ । सार्वजनिक बसको यात्रा गर्दा चावहिलको चुच्चेबाट ७ः३० मा यहाँका लागि बस छुट्छ । काठमाडौं–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ ।
त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्काे रुट झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि विभिन्न बासनादार बनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ ।
