पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गरि मनाएको हुन् । यसै अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले प्रभातफेरी तथा विचार गोष्ठी“ कार्यक्रम सम्पन्न गरेको छ । ”समृद्ध नेपाल यात्रामा सञ्चार कर्मको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले पार्टीलाई जनता समक्ष स्थापित गर्न प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै अर्यालले आगामी दिनमा चौतारीको भूमिका अझ फराकिलो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले नेकपा एमालेलाई सञ्चार क्षेत्रबाट चौतर्फी घेराबन्दीमा पारेको र त्यसको चिरफार चौतारीले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बुद्धिजीवी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य दिपक अर्याल, मेलम्ची नगरपालिकाको उपमेयर उमा प्रधान, अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल, अनेरास्ववियु जिल्ला कमिटी सचिव नवीन पाण्डे, प्रेस चौतारीमा आबद्ध पत्रकार,विद्यार्थी नेता लगायतको उपस्थिति रहेको थियो ।
