सम्पर्क

पशु फर्ममा आगलागी हुदा ५० लाख बढीको क्षती गाउँपालिकाले तत्काल ५ लाख सहयोग गर्ने

दिनेश थापा
सुनकोशी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्ममा आगलागी हुदा ५० लाख बढीको क्षती भएको छ । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोशी २ का वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिनुभयो ।
बुधबार बिहान करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने वडाध्यक्ष महतले जानकारी दिनुभयो । आगलागीबाट फर्मको सम्पुर्ण भौतीक संरचना समेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दान लगायत अन्य सामग्रीहरु समेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिनुभयो । स्थानीयको सक्रियतामा आगोलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले २ करोड बढी लगानीमा कृषि तथा पशु फार्म सञ्चालनको सुरुवात गरेका थिए । विदेशबाट फर्कीएका एक जना आफन्त सहित मिलेर सञ्चालन गरेको फर्मबाट केही समय पछि नै उत्पादन सुरुवातको चरणमा भएपनि आगालागीबाट सबै क्षती भएको केसीले बताउनुभयो ।
गाउँपालिकाले सहयोग गर्ने
स्थानीय युवाहरुको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उदेश्यले करोडौको लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम नै राख्नका लागि सुनकोशी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरक्षणमा पुगेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपलिकाले ५ लाख सहयोग उपलब्ध गराउने प्रतिवबद्धता गरेका छन् । त्यस्तै आगालागीबाट जलेको घर निर्माणका लागि विपद प्राधिकरण मार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गर्नुभएको छ । वडाध्यक्ष पुर्णबहादुर महतले पनि वडा,गाउँपालिका लगायत अन्य सरकारी, गैरसरकारी संघ सस्थासँग समन्वय गरेर कृषि फर्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफुले पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।