सम्पर्क

मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न

विपना तामाङ (गोले)

सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिकाको न्यायिक समितिका पदाधिकारी, सदस्य र मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षण सम्पन्न भएको छ ।
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा भएको तालिममा गाउँपालिकाको विभिन्न वडाबाट छनोट भएका २५ जनाको सहभागीता रहेको थियो । न्यायीक समती सँयोजक तथा गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठको अध्यक्षता जिल्ला न्यायाधीस विदुर कोईरालाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको सहभागिता रहेको थियो ।
गाउँपालिका भित्रका न्यायिक समितिका पदाधिकारी, सदस्य र गाउँपालिकामा रहेको मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोेजक हिमाल कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रम समापन गर्दै गाउँपालिका उपाध्यक्ष श्रेष्ठले स्थानीय सरकार गठन भएपछि स्थानीय तहका उप–प्रमुखलाई न्यायिक समितिको संयोजक तोकेपनि आवश्यक ऐन नियम, कार्यबिधि नुहँदा न्याय सम्पादन समस्या भइरहेको बेला पालिकामै यस्तो तालिम हुनुले न्याकिक कार्यमा आफुलाई सहयोग पुग्ने भन्दै यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार अन्यायमा परेका सबैलाई न्याय दिन प्रत्येक वडाबाट मेलमिलापकर्ता छनोट गरी तालिम दिइएको छ । गाउँपालिकामा रहेका सात वटै वडाका मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तर निर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकासक्रम, विवाद समाधानका रणनितिहरु, मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हित अडान सम्वन्धी जानकारी, मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलाप पूर्व पश्चातको जानकारी, मेलमिलाप कर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीप औजारको बारे प्रशिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीस विदुर कोईरालाले न्याय सम्पादन गर्दा कसैले पनि राजनैतिक पुर्वाग्रही राखेर न्याय सम्पादन गर्न नुहने, समुदायमा मेलमिलाप कर्ताको महत्वपुर्ण भुमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पिडकलाई उत्साही हुने खालको न्याय सम्पादन गर्न नहुने धारण ब्यक्त गर्नुभयो ।
तालिममा सहभागि न्यायिक समितिका सदस्य हिरामाया सिलवाल समुदायमा भएको विवादहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान सिप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताउनुभयो । उहाँले वडामा देखिएका समस्या अव गाउँपालिका नआएर वडामै बिवाद मिलाउन आफुहरु लाग्ने बताउनुभयो ।

तालिम दिएका मेलमिलापकर्ताहरुको अभिलेख गाउँपालिकामा सुचिकृत गर्ने, मेलमिलाप कर्ताको आधारभुत तालिमसंगै मेलमिलाप कर्ताले पालना गर्नु पर्ने १६ बुदे आचार संहिता समेत निर्माण भएको र सपथ ग्रहण समेत गराइएको गाउँपालिकाले जनाएको छ । अव उनिहरुलाई वडामा आवश्यकताका अनुसार परिचालन गरिने गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोेजक हिमाल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।