सम्पर्क

जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिले दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार सुनकोशी गाउँपालिकाले ३८ जना यो सँग सम्बन्धी बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र सबैभन्दा बढी क्यान्सर रोगका विरामीहरुले उक्त सुविधा लिएका छन् । ३९ जना क्यान्सर रोगी, पाँच जना मृगौला प्रत्यारोपण, सात डायलाइसिस गराएका र तिन जना मेरुदण्डका पक्षघातका बिरामीहरुलाई उक्त सुविधा प्रदान गरिएको दुलालले जानकारी दिनुभयो ।
गाउँपालिकाले त्रैमासिक रुपमा बिरामीहरुको खातामा पैसा जम्मा गरिदिन सुरु गरेको छ । अहिले साउन देखि कै रकम प्रदान गरिएको र पछि आउने बिरामीहरुलाई उहाँहरुको कागजपत्रको आधारमा रकम प्रदान गर्ने दुलालले बताउनुभयो ।
केन्द्रीय सरकारले घोषणा गरेको रकम स्थानीय सरकारले आफ्नै खातामा जम्मा गरिदिएपछि उपचारमा केही भएपनि सहयोग पुगेको लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका सुनकोशी–१ क पुष्पराज भण्डारीले बताउनुभयो ।
मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोशी–५ की सरीता थामीले पनि उपचारको लागि मासिक रुपमा ५ हजार स्थानीय सरकार बाट पाउँदा खुसी लागेको बताउनुभयो । उपचारको लागि त मासिक रुपमा धेरै खर्च हुन्छ,गाउँपालिकाले दिएको रकमले केही भएपनि भरथेग भयो थामीले भन्नुभयो ।
दिर्घरोगीहरुलाई निःशुल्क औषधी पनि दिदै
सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९÷८० को स्वीकृत कार्यविधि अनुसार गाउँपालिका स्थायी ठेगाना भएका र सुगर, प्रेसर, दम र मानसिक रोगका रोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने भएको छ । गाउँपालिकाले माघ तेस्रो साता देखि चारै रोगका बिरामीहरुलाई सम्बन्धीत वडा,स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वमसेविकाहरु मार्फत विरामीहरुले नियमित सेवन गर्दे आएको औषधी नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र यी रोगका विरामीहरुले नियमित सेवन गरेको औषधीको विवरण प्राप्त भइसकेको र औषधी ल्याउने अन्तिम चरणमा रहेकाले माघ भित्र नै सबै विरामीको घर घरमा नै औषधी पु¥याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।