सम्पर्क

कृषि ज्ञान केन्द्रद्धारा सिन्धुपाल्चोक र काभ्रेका ६ कृषक पुरस्कृत

कृषि ज्ञान केन्द्र काभ्रेले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सिन्धुपाल्चोक र काभ्रेका ६ जना कृषक पुरस्कृत गरेको छ ।
धुलिखेलमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ३÷३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का झलक प्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य , काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा रहनुभएको छ ।
उहाँहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाडी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाई र कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो । कृषि ज्ञान केन्द्र काभ्रेले उत्कृष्ट कृषक छनौटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो । सोहि मापदण्डका आधारमा काभ्रेपलाञ्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेका थिए । मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिनुभयो ।