सम्पर्क

बाल अधिकार प्रवद्र्धन प्रदर्शनी सम्पन्न

ठोकर्पा ।
सुनकोशी गाउँपालिका वडा नं। १ र बाघ भैरव माविको संयुक्त आयोजना एवं वडा नं। १ देखि ५ सम्मका ठोकर्पा मावि, जनजागृति मावि, गणेश मावि, भूमेश्वरी मावि, रक्तकाली आवि, कालीदेवी आवि, बालशिक्षा आवि, बेत्रावती आवि समेतको सह आयोजना तथा टुकी संघ सुनकोशी र चाईल्ड फण्ड जापानको सहयोगमा बाल अधिकार प्रवद्र्धन प्रदर्शनीको आयोजना सम्पन्न भएको छ ।
प्रदर्शनीका उपस्थित ९ वटै विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गरिने र गर्दै आएका बालमैत्री स्थानीय शैक्षिक सामाग्रीहरु, विद्यालय व्यवस्थापनसँग सम्बन्धित योजना तथा अन्य अभिलेखहरु आ आफ्नो स्टलमा प्रदर्शनका लागि राखेका थिएा । त्यसका साथै सहयोगी संस्था चाईल्ड फण्ड जापान नेपाल कार्यालय र टुकी संघ सुनकोशीको पनि आफ्नै प्रदर्शन स्टल रहेको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि टपिन्द्र तिमल्सिनाले उद्घाटन गर्नु भएको उक्त प्रदर्शनीमा वडा नं १ का वडाध्यक्ष कुमार शाहीको अध्यक्षता, पालिका उपाध्यक्ष कान्छी लामा र शिक्षा विकास तथा समन्वय इकाईका ईकाइ प्रमुख कृष्णप्रसाद सुवेदीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा प्रदर्शनी स्टल अवलोकन एवं सम्बन्धित प्रदर्शनकर्ता विद्यालयसँग अन्तरक्रियात्मक छलफल भएको थियो भने दोस्रो चरणमा बालबालिकाले बाल अधिकार प्रवद्र्धन एवं संरक्षण सम्बन्धी सन्देश मूलक कविता, गीत, नाटक आदि प्रस्तुत गरेका थिए । कार्यक्रममा टुकी संघ सुनकोशीका सचिव सविना लामाले गाउँपालिकाले सञ्चालनको लागि व्यवस्थापन गरिरहेको बाल संरक्षण अक्षय कोषमा चाईल्ड फण्ड जापान र टुकी संघ सुनकोशीका तर्फबाट रु। १,००,०००। थप गरी असहाय बालबालिकाको शिक्षामा सहयोग पुर्याउने कुराको घोषणा गर्नुभएको थियो भने संघका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद पौडेलले चाईल्ड फण्डको आर्थिक सहयोग एवं गाउँपालिकासँगको समन्वयमा विगत १० वर्षदेखि सञ्चालन भईरहेको सुनौलो भविष्यका लागि शिक्षा परियोजना मार्फत भएका क्रियाकलाप तथा उपलब्धी माथि प्रकाश पार्नु भएको थियो । यसरी नै चाईल्ड फण्ड जापानको तर्फबाट एरिया मेनेजर मनोज कुमार चौधरीले यस परियोजनाले लिएको लक्ष्य उद्देश्य र यसबाट प्राप्त उपलब्धिको दिगोपना सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सबै विद्यालयको प्रतिनिधित्व गर्दै बाघ भैरव माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले कार्यक्रम र यसबाट हासिल भएका उपलब्धिको बारेमा प्रकाश गर्नुभएको थियो भने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्ण प्रसाद सुवेदीले इकाईले गर्ने समन्वय सहकार्य एवं शैक्षिक विकास तथा विद्यालय जनशक्ति व्यवस्थापनमा भएको कामको प्रकाश पार्दै यस प्रदर्शनीबाट ९ वटा विद्यालयले एक आपसमा सिक्ने सिकाउने मात्र नभएर पालिकाका अन्य विद्यालयले पनि सिकाइ प्रचारप्रसार हुन सक्ने कुरा बताउनुभएको थियो ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष हरि थापाले प्रदर्शनी स्टल अवलोकन गर्दै, स्टलमा प्रदर्शनका लागि राखिएका शैक्षिक सामाग्रीहरुलाई प्रधनाध्यापकको कार्यकक्षमा थन्क्याएर राख्ने हैन, बालबालिकाकै पहुँचमा ती शैक्षिक सामाग्रीहरु उपलब्ध हुनुपर्ने र शैक्षिक सामाग्रीहरुमा प्राकृतिक पक्षको समावेश गर्दा बढी उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि पालिका उपाध्यक्ष कान्छी लामाले, टुकी संघ सुनकोशी र चाईल्ड फण्ड जापानको सहयोगमा यस क्षेत्रका विद्यालयको पूर्वाधार विकास, बालमैत्री एवं किशोरी मैत्री संरचना तयार, शिक्षक, विव्यस, शिअस र बालबालिकाको क्षमता विकासमा पु्र्याएको योगदानका लागि धन्यवाद प्रकट गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले शैक्षिक सामाग्रीको रुपमा प्रदर्शनको लागि स्टलमा राखिएका शैक्षिक सामाग्रीमा हलोदेखि हेलिकप्टरसम्मका शिक्षण सामाग्रीले आफू अत्यन्तै प्रभावित भएको र कम मूल्यमा स्थानीयस्तरका उपलब्ध सामाग्रीहरुको प्रयोगबाट शैक्षिक सामाग्री निर्माण र शिक्षण प्रभावकारी भई विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि हुने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, कोष स्थापनाको लागि कार्यविधि बनाएर, चालु पुँजी नभई स्थिर पुँजीको रुपमा कार्यान्वयन गर्नेगरी अक्षयकोषको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, सबै विद्यालय, वडा कार्यालय र स्वास्थ्यचौकीमा फ्रि वाईफाईको लागि टेन्डर भैसकेको छ, विद्यालय व्यवस्थापन समित गठनको लागि सबै विद्यालयमा पचात्रार भैसकेको छ, अब १५ दिनभित्र पुरानै कार्यविधि अनुसार समिति बन्ने छ । पालिकाको सातवटै वडामा बाल सञ्जाल गठन भईसकेको छ, पालिकामा बालविवाह अझै पनि विद्यमान छ, यसलाई रोक्न हामी सबै लागौँ र पालिकाले पनि यसमा अग्रणी भूमिका लिन्छ । शैक्षिक सामाग्री निर्माण र प्रयोगका लागि प्रदेश, केन्द्रबाट आएको बजेटलाई परिचालन गर्न सकिने छ । जामुनेबाट आएका विद्यार्थी बाघ भैरव माविमा ५० प्रतिशत टिकाउन नसकेको अवस्थामा, अब ८ कक्षा जामुनै मै चलाउन सहयोग गरिने कुरा उहाले व्यक्त गर्नुभयो ।