सम्पर्क

पाँचपोखरी सरसफाई अभियान सुरु

पर्यटकिय स्थल पाँचपोखरीको सरसफाई अभियान सुरु गरिएको छ । पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि,सफा राखौं आफ्नो सृष्टि भन्ने नाराका साथ मंगलबारबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाई अभियान सुरु गरिएको संस्कृती पर्यटन प्रर्वद्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना,नेपाल पर्यटन बोर्ड, न्यू भिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टि जि एच नेपालको समन्वयमा विश्वकै नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाई अभियान थालिएको हो । जिल्लाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरु समाजका अमुल्य सम्पति भएकाले यसको संरक्षण संवद्र्धन र सरसफाइ नियमित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताउनुभयो । पाँचपोखरी नेपाल भ्रमण बर्ष २०२० मा घुम्नै पर्ने पर्यटकिय स्थलहरुको सुचिमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । जनै पुर्णिमाको अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकहरुले प्लाष्टिक, बोतल लगायत अन्य सामाग्रिको जथाभावि प्रयोगले वातावरण बिग्रेको हुनाले सरसफाई अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।