सम्पर्क

तातोपानीमा स्नान मेला शुरु

धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा शुक्रबारदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौं स्वदेशी तथा विदेशी भक्तजनहरू पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । धारा ब्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनहरूलाई स्नान गर्न सजिलो बनाउने उदेश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको ब्यवस्था गरेको छ । महिलाको लागि तीन र पुरूषको लागि चारवटा धाराको ब्यवस्थापन गरिएको संरक्षण समितिका बिष्णु श्रेष्ठले बताउनुभयो । २०४८ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनेपछि धाराको मर्मत सम्भार तथा ब्यवस्थापनको काम हुन थालेको श्रेष्ठले बताउनुभयो । चौवालिस डिग्री सेल्सियस तापक्रम रहेको धाराको पानीमा गन्धकको मिश्रण भएकाले चर्मरोग तथा पेटसम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ । नजिकै अमिलो पानीको धारासमेत रहेको छ । त्रेतायुगमा श्रृंगी ऋषि मानसरोवर जाने क्रममा कार्तिक शुक्ल तृतीयाका दिन त्रिशूलले पहरा खोपेर तातोपानी निकाली स्नान गरेका किंवदन्ती यहाँ रहेको छ । भगवान् रामको जन्म भएको खबर पाएपछि चैत शुक्ल तृतीयाका दिन सोही धारामा स्नान गरी अयोध्या फर्केको हिमवत खण्डमा उल्लेख छ । सोही कारण प्रत्येक कात्तिक र चैत महिनाभरि स्वदेशी र विदेशी भक्तजन स्नानको लागि पुग्ने गरेको र मेला नै लाग्ने गर्दछ ।