सम्पर्क

तापक्रम घटेसँगै चिसो बढ्दै

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । मंगलबार काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।