नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै रसुवागढी नाकाबाट ओखर आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दशैंपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो ।
दशैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौं प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि दशैं अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरेर पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो ।
