सम्पर्क

इन्द्रावतीमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र

ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ का कृषकले पशुपालन गरी मनग्य दुध बिक्री गर्न थालेपछी नयाँपानी भूमि अधिकार कृषक समूहको सक्रियतामा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा बनेको दुग्ध संकलन तथा प्रशोधन केन्द्रको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले एक कार्यक्रमबिच उद्घाटन समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगत वर्षहरुमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्‍याएको समेत बताउनुभयो । उहाँले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सँघ संस्थाको खोजी भइरहेको बताउनुभयो । त्यसैगरी नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले वडामा उत्पादित दूधको सदुपयोग गर्न बाहिर निर्यातका लागि दुग्ध तथा प्रशोधन केन्द्रको स्थापना गरिएको बताउनुभयो । अहिले एक व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेको सो केन्द्रमा आगामी वर्षमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र एकै ठाउँमा सँकलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको सहजताका लागि हामीले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ । कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाअध्यक्ष शशिनाथ आचार्यले ईन्द्रावतीको दुग्धभण्डारको पकेटक्षेत्र बनाउने उदेश्य रहेकाले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको बताउनुभयो । गाउँमै बसेर मनग्य धनआर्जन गर्नका लागी पशुपालन ब्यवसाय दरिलो माध्यम भएको समेत वडाअध्यक्ष आचार्यले बताउनुभयो ।