गत वर्ष असार १ गतेको बाढीले मेलम्ची बजारमा २६ जनाको ज्यान जानुका साथै धेरै भौतिक सम्पत्ति क्षति भएको थियो । सो कारण नेपाल सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्ला समेत घोषणा गरेको थियो । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल बाढी प्रभावित क्षेत्र मेलम्चीमा स्थलगत अनुगमन गर्नुभएको छ । बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि जिल्लाका उच्च सुरक्षाकर्मी सहित बुधबार प्रमुख जिल्ला अधिकारी खनाल मेलम्ची आइपुग्नुभएको हो । खनाल संगै मेलम्ची नगर प्रमुख आइतमान तामाङ र स्थानीयवासीहरु लगायतले नदीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभयो । मेलम्ची र इन्द्रावती नदीले मेलम्ची बजार क्षेत्र जोखिममा पारेको भन्दै प्रमुख जिल्ला अधिकारीले दीर्घकालीन योजना बनाएर तटबन्ध गर्नुपर्ने तर्फ आफुले जोड दिने बताउनुभयो । स्थलगत अवलोकन पछि नगरप्रमुख तामाङले जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि गम्भीर भएर पहल गर्ने र नदी कटान नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न निर्देशन दिएको बताउनुभयो ।
