नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामो काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित हुन गएको सन्दर्भमा व्यापक छलफल गरी विभिन्न निर्णयहरू समेत गरेको छ । बैठकले महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय गरिएको केन्द्रीय समितिका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरूमा विद्यमान श्रम समस्याहरू समाधानका निम्ति सशक्त ढंगबाट अगाडि बढ्ने निर्णय गरेको समेत जानकारी दिनुभयो । त्यसका लागि सम्वाद, छलफल, कानुनी प्रक्रिया र संघर्षका कार्यक्रमलाई एकसाथ लैजाने निर्णय समेत निर्णय भएको छ । वैठकमा विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारका सवालमा महासंघसँग भएका सहमति कार्यान्वयन नभएकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल सहमति कार्यान्वयन नभएमा थप दबाबमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाललगायतका निकायहरूको भूमिकाको बारेमा समीक्षा गर्दै बैठकले ती निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
