सम्पर्क

सुत्केरीलाई १५ सय भत्ता, ज्येष्ठ नागरिकलाई घरमै औषधी सुनकोशी गाउँपालिकाको निर्णय

सुनकोशी गाउँपालिकाले पालिकाभित्रको सुत्केरीलाई एक हजार पाँच सय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले पदभारपछि यस्तो निर्णय गरेका हुन् । यस्तै छोरी जन्मिएको हकमा सुत्केरी स्याहारका लागि थप एक हजार रुपैयाँ दिने निर्णय पनि भएको छ । नयाँ आर्थिक वर्षदेखि यो निर्णय कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी  ७० वर्ष माथिका नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै नियमित औषधी उपलब्ध गराउने कार्यक्रम समेत सुरु गर्ने भएको छ । जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीले जिल्लाका १२ स्थानीय तहका प्रमुखहरूलाई शुक्रवार नै पद तथा गोपनीयताको शपथ गराएका थियो । सुनकोशीबाट निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई गाउँपालिका अध्यक्ष तिमिल्सिनाले सोमबार पद तथा गोपनीयताको शपथ गराएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने उपाध्यक्ष सहित सबै जनप्रतिनिधिहरूलाई सुनकोशी गाउँपालिकाकी मुख्य निर्वाचन अधिकृत बिन्दा आचार्यले प्रमाण पत्र प्रदान गरेको थियो । गाउँपालिका अध्यक्ष तिमिल्सिनाले समृद्ध सुनकोशी निर्माणका लागि सबै पक्षसँग परामर्श गरेर आफू अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भष्ट्राचारलाई हामी गाउँपालिकामा शून्य बनाउँछौ अध्यक्ष तिमिल्सिनाले भने हामी गाउँमा आय आर्जन र जीविकोपार्जनको कार्यक्रमहरू अगाडि बढाउँछौ । प्रमाण पत्र वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्रीद्धय अरुण नेपाल,सरेश नेपाल, गाउँपालिकाको कार्यवाहक अध्यक्ष लक्ष्मी पौडेले लगायतले निर्वाचित जनप्रतिनिधिहरूले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।