स्थानीय निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले चुनावको दिन पानी पर्न सक्ने महाशाखाको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनका जनाईए अनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गरेको महाशाखाले आजनै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ । मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।
