सम्पर्क

कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोकमा माओवादी र एकिकृत समाजवादीको आरोप

पाँच दलीय गठबन्धनको निर्देशन र सहमति विपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले आरोप लागाएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी हुदाँ केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने निर्णय भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन संकटमा परेको छ । नेपाली कांग्रेस गठबन्धनका विषयमा इमान्दार नभएको भन्दै केन्द्रलाई गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पत्र लेखेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलले हस्ताक्षर गरेको पत्रमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट बैठकको आह्वान नभएको उल्लेख छ । पत्रमा लेखिएको छ , “बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहनुहुने नेता तथा केन्द्रीय सदस्यको अनुपस्थितिका कारण वार्ताको वातावरण नबन्ने अवस्था सिर्जना भयो,” । सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको जुँगाको लडाइँका कारण पनि सिन्धुपाल्चोकमा पाँचदलीय गठबन्धन हुन नसकेको धेरैको बुझाइ छ ।