सम्पर्क

१२ औं छायाँछवि डी सिने अवार्ड कार्यक्रम सम्पन्न

डी.सी.ने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेको छ । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल हुनुभयो ।
यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गर्नुभएको हो । अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताउनुभयो । उहाँले आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए । इभेन्ट आयोजनाकालागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिए भने लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्नुभयो । उहाँलाई नगद पच्चीस हजार एक रुपैयाँ सहित सम्मान गरिएको हो । त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उहाँलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरष्कार प्रदान गर्नुभएको हो । यस्तै, नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सोदिप श्रेष्ठ,सगार घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डिसीने अवार्डमा आयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेत लगायत फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत, कृष्ण काफ्लेको गायन प्रस्तुती तथा संजिवनी स्कूलको स्वागत नृत्य रहेको थियो ।