सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन गर्नुभएको छ ।
बिहीबार एक समारोहका बीच सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभएको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । सभामुख सापकोटाले भ्यु टावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । सङ्घीय सांसद एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताउनुभयो । समुद्री सतहबाट करिब १७ सय मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरी शङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोट लगायतको भू–भागको दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको हब बन्ने विश्वास नगरपालिकाले लिएको छ । साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयहरूको आयस्रोतमा वृद्धि गरी सिङ्गो नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको बताउनुभयो ।
सदरमुकाम चौताराबाट ३ किलोमिटर दरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गको रुपमा निर्माण गर्दै गरेको हजार सिँढीको कार्य पनि अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको आन्तरिक स्रोतमार्फत ७ करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
