प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार डाकमान गुरूङलाइ पक्राउ गरेको छ । इलाम जिल्ला तारकेश्वर नगरपालिका–५ बस्ने सन्दकपुरका ४२ वर्षीय डाकमान गुरूङलाइ आइतबार प्रहरीले पक्राउ गरेको बागमती प्रहरी कार्यलय हेटौडाले जनाएको छ । उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका गुरूङ लाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको प्रहरी कार्यलयले जनाइको छ । डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । त्यसैगरी अवैध लागुऔषध सहित २ जना पक्राउ परेका छन । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–५ कटुन्जेबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५८ वर्षीय दिनेश ढुंङ्गेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ लोथरबाट करिब ९० किलोग्राम अवैध लागुऔषध गाँजा सहित भारत मोजफपुर बस्ने ३५ वर्षीय असगर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिआर २५ जिए ३०९२ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकभित्र उक्त गाँजा फेला पारी ट्रक चालक असगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसै गरी प्रहरीले अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन ।काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
