सम्पर्क

४ जना नक्कली परीक्षार्थी पक्राउ

चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका–१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका–५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन । स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित फेला पारी पक्राउ गरेको हो । उहाँहरूमध्ये अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, राम आशिषलाई ग्रामर स्कुल कोटेश्वरबाट र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वरबाट पक्राउ गरेको हो । साथै सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उहाँहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ । त्यसैगरी अवैध लागुऔषध सहित ४ जना पक्राउ परेको छ । कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागुऔषध नुर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित सुनसरी बर्जु गाउँपालिका–६ चिम्डी बस्ने २६ वर्षीय जितेन्द्र कुमार दासलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १२३२ नम्बरको हाईसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार जितेन्द्रलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बराहक्षेत्र नगरपालिका–१ चतरा बसपार्कबाट नियन्त्रित लागुऔषध स्पामो प्रोक्सिभन ४८ ट्यावलेट र डाइलेक्स डिसी ६ बोतल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया सबिता राई र बराहक्षेत्र नगरपालिका–२ बस्ने २६ वर्षीय संजय राई रहेका छन् । सबिताको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । पुर्नवास नगरपालिका–१ ढक्का बस्ने ४४ वर्षीय शेर बहादुर बमलाई १०८.४६ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शेर बहादुरको किराना पसलमा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उहाँलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । त्यसैगरी सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरी, ईटहरी उपमहानगरपालिका–१८ नयाँ टोलस्थित सडकमा को.१ क १८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया मेहरुन खातुनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानेपोखरी गाउँपालिका–७ कानेपोखरी जंगलस्थित सडकमा बा.१७ च ७९७१ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पथरी अस्पताल हुँदै कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी सोलुखुम्बुमा एकजना मृत अवस्थामा फेला परेको छ । लिखुपिके गाउँपालिका–५ भकाञ्जे बस्ने ३० वर्षीय शम्भु तामाङ सोही ठाउँस्थित लाक्पा शेर्पाको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित डेरा गरी बस्ने रुपन्देही घर भएका ४१ वर्षीय लोक बहादुर गन्धर्व आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छ । यस सम्बन्धमा बागमती प्रहरी कार्यालय हेटौडा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।