पहिले जनता बचाऔ अनी राजनिती गरौ भन्ने मुलनारा बोकको मोहन बहादुर बस्नेत र जहाँ कांग्रेस त्यहाँ मोहन बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास भन्ने सिन्धुपाल्चोकका काँग्रेस कार्यकर्ताको भनाइलाई सुनकोशी गाँउपालिकाले प्रमाणित गर्देै आएको छ । मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पा नेपालकै पहिलो वडा घोषणा भएको छ । वडाका सम्पूर्ण घरधुरीहरु तथा संघसंस्थाहरु सहित शतप्रतिशत ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र वहादुर कार्कीले बताउनुभयो । अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानियले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिव ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरुबाट खानेपानीको अपूर्ती भईरहेको वडा अध्यक्ष कार्कीको भनाई छ । बर्षा यामको समयमा करिव शत प्रतिशत नै प्राकृतिक मुहानको पानीलाइ शुद्धिकरण गरी खानेपानी सिस्टममा जोडेर खानेपानीको अपूर्ती गरिएको छ । एक गाग्री पानीको लागि घण्टौं हिंडेर लाईन बसी पानी ल्याउनुपर्ने कथाको अन्त्य भएको भन्दै स्थानिय जानुका भण्डारीले खुशि ब्यत्त गरिन् । उनि भन्छिन्, “ खानेपानीको लागि लामो समयसम्म दिनै माया मारेर जानुपर्ने बाध्यता हट्यो ।” यहाँका प्रायजसो महिलाहरुमा डोकोमा राखेर पानी बोकेकै कारण स्त्रीरोगको सिकार बन्ने गरेको अवस्थामा थियो । २०७२ सालको महाभुकम्प पश्चात झनै खानेपानीका केही भएका मुहान समेत सुक्न गई काकाकुल जस्तै जीवनयापन गरिरहेको स्थानियमा वसाईसराई नै गर्नुपर्ने अवस्था आएको थियो ।
स्थानीय सरकारको निर्वाचन पश्चात यस वडाले वडाको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको विषयलाइ लिएर विभिन्न अध्ययन गरी २०७५ जेष्ठ महिनाको १५ गते घरघरमा धारा घरघरमा पानी अभियानको थालनी गरेको थियो । पहिलो चरणमा वडाको तल्लो भागमा रहेको एउटा मुहानलाइ लिफ्टिङ मार्फत माथिल्लो स्थानसम्म लगि ६४ घरधुरीहरुमा पानी उपलब्ध गराउन सफल भएको थियोे । खानेपानीको पहिलो योजना सफल भएपश्चात वडामा रहेका खानेपानीको अन्य प्राकृतिक श्रोतहरुको खोजी गरी पानीलाइ एकिकृत गरी वडाको सम्पूर्ण घरधुरीहरुमा पानी पुर्याउने लक्ष्यले एउटा डिप बोरिङ,३ वटा लिफ्टिङ र अन्य स–साना प्राकृतिक श्रोतहरुलाई समेत संकलन गरी खानेपनी योजनाहरु सम्पन्न गरिएको पालिका अध्यक्ष श्रवण कुमार जिसिले बताए । अध्यक्ष जिसि भन्छन्, “विस्तारै वडाका सम्पूर्ण घरधुरीहरुमा धारानिर्माण गर्ने कामको थालनी भयो, त्यसमा पनी बालमैत्री धाराहरु निर्माण भए । ”
खानेपानीको संकलन गर्न तथा वितरण गर्नका लागि २ लाख लिटर क्षमतादेखी २० हजार लिटर क्षमता सम्मका गरी जम्मा २६ वटा रिजर्भ तथा वितरण ट्याङ्कीहरु निर्माण भएका छन् । संस्थागत सहित सुनकोशी गाउँपालिका वडा नं १ ले शतप्रतिशत घरधुरीमा मिटर जडित धारा मार्फत नियमित खानेपानीको आपूर्ती सम्पन्न गराएकोले यो मोडलको अध्ययन अन्य ठाउँहरुबाट समेत हुने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताए । विहिबार एक कार्यक्रम बिच पुर्व संचार मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले उद्घाटन संगै मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने वडा घोषणा गरेको हो ।
