सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा जातिय विभेद उन्मुलन सम्बन्धि र दलितहरुको अहिलेको अवस्था विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्ययमान जातीय विभेदको व्यवाहारिक अन्त्यका लागि सबै मिलेर एकजुट हुन सके सम्भव रहेको सोमबार अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेको थियो । सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा ५७ औं अन्र्तराष्ट्रिय रंग तथा जातिभेद विरुद्धको दिवस मार्च २१ को अवसरमा जातीय विभेदको व्यवहारिक अन्त्यको लागि सरोकारवालाको भूमिका विषयक अन्र्तक्रियामा सहभागिहरुले समाजलाई जातीय विभेद मुक्त बनाउन सबैले चाहेमा सम्भव रहेको बताउनु भयो । विभिन्न धर्मका धर्र्म गुरुहरुले धर्ममा कही कतै विभेद नभएको बताउनु भएको थियो । समानता र स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । कसैले कसैलाई जात, धर्म, वर्ण, लिङ्ग तथा उत्पति तथा कुनै पनि आधारमा विभेद गर्न बन्देज गरेको छ । नेपालको संविधान र कानूनले यस भावनालाइ आत्मसात गरेको भएपनि व्यावहारिक रुपमा कार्यान्वयन भएको पाइदैन । कार्यक्रममा बोल्दे रेडियो सुनकोशीका स्टेशन प्रमुख यज्ञ दंगालले भन्नुभयो “दलित तथा आम उत्पीडित समुदायले आफ्नो संवैधानिक तथा कानूनी रुपमा प्राप्त अधिकारहरुको प्रभावकारी कार्यान्वयन भई परिवर्तनको महशुस गर्न र थप अधिकारहरु प्राप्तिको लागि समेत यस दिवसले दलित समुदायलाई थप प्रेरित गर्ने रुपमा पनि यस दिवसको महत्व बढिरहेको देखिन्छ ।” त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिव रामचन्द्र बस्नेतले जातीय भेदभाव तथा छुवाछूत जस्तो कुप्रथा एवं संस्कार आज पनि नेपाली समाजमा विद्यमान रहनु राज्यको लागि निकै ठुलो चुनौतिको विषय हो, जसको अन्त्य गरी दलित समुदायलाई राज्यको मुलधारमा समाहित गर्नका लागि आवश्यक कार्यहरु गर्नु सबै सरोकारवालाहरुको जिम्मेवारी हो भन्नु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयक प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले विभेदजन्य क्रियाकलाप सामाजिक अपराध भएको र यसबाट पिडितलाई न्याय दिन प्रहरी प्रशासन तयार भएको बताउनु भयो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले समाजमा विद्यमान विभेद अन्त्यका लागि सबै लाग्न सके यस्ता विभेद छिट्टै हटाउन सकिने बताउनु भयो । समाजमा विभेद हटाउन राजैतिक तत्परता भएमा यो सम्भव रहेको धारणा राख्नु भएको थियो । कार्यक्रमा बोल्दै दलित अधिकार मञ्चका अध्यक्ष उमेश विश्वकर्माले संविधानले सामाजिक न्याय, स्वतन्त्रता, धर्म निरपेक्षता र समानुपातिक समावेशीकरण जस्ता परिवर्तनका आधारभूत मूल्य मान्यतालाई स्थापित र संस्थागत गरेको छ । तथापि दलित समुदायले ऐतिहासिक रुपमा भोग्दै आएको अमानवीय जातीय भेदभाव र छुवाछूतको समूल अन्त्य गर्ने र उक्त समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवं सांस्कृतिक पक्षहरुको उत्थान र विकासको लागि ठोस रणनीतिक र कार्यनीतिक उपायहरु अवलम्वन गर्न सकिरहेको पाइदैन । तसर्थ, दलित समुदायको समग्र विभेदबाट मुक्ति र सर्वाङ्गिण विकासका लागि अब सबै एकजुट हुन आवश्यक रहेको बताउनु भयो । साथै उहाँले सहयोगी संस्थाहरु तथा समन्वयकारी निकायलाई आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सहयोग र समन्वयको अपेक्षा रहेको समेत बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिब पुष्पा सुनारले गर्नुभएको थियो ।
