सम्पर्क

राप्रपाको स्थानीय तहको चुनावी तयारीः माहोल बनाउँदै गाउँमा नेता

रुपक पुरी

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राष्ट्रीय प्रजातन्त्र पार्टीका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । अहिले राप्रपाले सिन्धुपाल्चोकका प्रत्येक टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिर्न लाग्नुभएको हो ।
आइतबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राप्रपाको जिल्ला कार्यसमितिको बैठक बसी अभियान थालनि गर्ने घोषणा गरेको छ । आईतबार जिल्ला कार्यसमितिको बैठकले राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको सँयोजकत्वमा वडा तथा पालिकामा उम्मेदवार छनौट समिती समेत गठन गरेको छ । समितिको सदस्यहरुमा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष कुमारी तामाङ , निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव देवराज गुरुङ र निर्वाचन अधिकृत राजकुमार भट्टराई रहनुभएको छ । राप्रपा जिल्ला कार्यसमितिले स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर क्षेत्रगत रुपमा वडा भेलाको तयारी गरेको जिल्ला अध्यक्ष निलध्वज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को चैत १६ गते बाह्रविसेमा र निर्वाचन क्षेत्र नम्बर २ को चैत १२ गते मेलम्चीमा भेला हुँदैछ ।
वडा भेलामा ‘हामी चुनावी रणनीति बनाउँदै मतदाताका पीर मर्का बुझ्न फेरि गाउँ छिनै लागेको’ थापालदे बताउनुभयो । टोल टोलमा आफूहरुका संयन्त्र भए पनि उहाँहरुको पीडा समस्या र थप ऊर्जा दिन राप्रपा नेताहरु टोल, गाउँ तथा पालिका स्तरसम्म छिरिरहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा आफ्नो गतिविधि बढाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँ टोल भेला गर्दै टोलसम्म आफ्नो संगठन विस्तार गरिरहेको छ । यसअघि सुस्ताएको राप्रपा अहिले भने पुनः व्युँतिएको कार्यकर्ताहरुको भनाई छ । ‘अहिले राप्रपाको गाउँमा जनलहर राम्रै देखिएको छ’, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुँगानाले भन्नुभयो, ‘गाउँमा जनलहर राम्रै भएपछि हामीले पनि गाउँ टोलसम्म पुगेर मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेका छौँ ।’
गाउँगाउँमा राजनीतिक दलका नेताहरु चुनाव लक्षित कार्यक्रम लिएर गएपछि गाउँको माहोलै तातेको राप्रपा महिला सँगठनको केन्द्रीय सदस्य तथा युवा नेतृ अमृता गिरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले गाउँका चिया पसलदेखि चौक चौतारासम्म आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनकै चर्चा परिचर्चा चलिरहेको छ ।’ गाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु चुनावी रणनीति लिएर गएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले पनि चुनावी रणनीति लगेर मतदाता आफ्नो पक्षमा पार्न माहोल तताइरहेका छौँ । ’ स्थानीय तहमा अहिले सञ्चालन गरिरहेको सरकारको समीक्षा गर्दै आगामी रणनीति र मतदाताका पिर मर्का बुझिरहेको उहाँले बताउनुभयो । ‘हामी मतदाताका पीर मर्का र उहाँहरुलाई एकतावद्ध गर्दै चुनावी माहोल बनाउन गाउँ छिरेका छौँ’, उहाँले भन्नुभयो ।