सम्पर्क

सिन्धु कांग्रेस सभापतिका लागि तीनजना मैदानमा

नेपाली कांग्रेस सिन्धुपाल्चोक को चौधौं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । केन्द्रको जस्तै जिल्ला सभापति लगायत पदाधिकारीमा सँस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा देउवा प्यानलबाट जँगबहादुर तामाङ मैदानमा आउनुभएको छ भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहनुभएका बँशलाल तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिनुभएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उहाँ देउवा समूहबाट बागी उम्मेदवार बन्नुभएको छ । सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गरिरहनुभएको छ भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरिरहनुभएको छ । कोइराला पक्षबाट भने बँशलाल तामाङको मात्रै एकल उम्मेदवारी परेको छ । बस्नेत पक्षबाट दुईजनाको उम्मेदवार परेपछि पहिलो चरणमा नै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको छ । दोस्रो चरणमा जाँदा तेस्रो हुनेले जसलाई समर्थन गर्छन् ,उहीँ सभापति हुने सम्भावना बढेको छ ।

त्यसैगरी देउवा समूहबाट उपसभापति पदमा टकबहादुर कार्की र पासाङ दोङ, सचीवमा भक्तध्वज बोहरा र रमेश भण्डारी, सहसचीवमा रामबाबु लुइँटेल र कृष्णभक्त नेपालले उम्मेदवारी दिएका छन् । उपसभापति ,सचीव र सहसचिव दुई–दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
बँशलाल तामाङ समूहबाट उपसभापति पदमा दोर्जे लामा (हाउडे) र सोमबहादुर तामाङ ,सचीव अनुप न्यौपाने र देविराज श्रेष्ठ, सहसचिवमा नरेश कार्की र निरध्वज खड्काले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी उपसभापतिमा सुर्यप्रसाद न्यौपानले पनि उम्मेदवारी दिनुभएको छ ।
जिल्ला सदस्यमा भने मेलम्ची नगरपालिका महिला कोटाबाट जमुना माझी निर्विरोध निर्वाचित हुनुभएको छ । महासमिति सदस्यका लागी खस आर्य कोटाबाट रामकुमार थापा पनि निर्विरोच निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।