सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसीको निधन भएको छ । लामो समयदेखि उपचाररथ उहाँको आज केएमसी शिक्षण अस्पतालमा निधन भएको उहाँको परिवारले जानकारी दिनुभएको छ ।
साहित्यमा समेत उत्तिकै सक्रिय उहाँलाई राम केसी ‘चौतारे’ को नाममले साहित्य क्षेत्रमा चिनिन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील रहनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उहाँ कार्यरत रहनुभएको थियो । दमरोग र छातस्मा सङ्क्रमणका कारण उहाँ अस्वस्थ थियो ।केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराइ घरमा बस्नुभएको थियो । फेरि अस्वस्थ उहाँलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको छोरा शरद केसीले जानकारी दिनुभयो ।वि.सं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत रहनुभएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय सभासदसमेत रहनुभइको उहाँ नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, २०७४ तथा राससबाट उत्कृष्ट जिल्ला समाचारदाताका रुपमा २०५४ र २०५७ मा पुरस्कृत हुनुभयो ।उहाँको उत्पीडन (कथा सङ्ग्रह), सुस्केरा र सुुसेली (गीति सङ्ग्रह) र नियति (कथा सङ्ग्रह) छन् । उहाँले २०५७ सालमा मिडिया प्वाइन्ट पुरस्कार र २०६० सालमा दैवीप्रकोप उद्धार पदकसमेत पाउनुभएको थियो ।
उहाँका एक श्रीमती, एक छोरा र चार छोरी रहेकोे छ ।
