सम्पर्क

मेलम्ची बाढीको सात महिना – विस्थापित अझै अस्थायी टहरामा

रुपक पुरी
गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धन जनको क्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन ।
विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो ।
बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् ।
हेलम्बुका चनौटेलगायत नदी आसपासका बस्ती, खेत, रिसोर्ट, ट्राउट व्यवसायसमेत बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको गणेशबगरका डम्बरबहादुर भण्डारीलाई अहिले इन्द्रावतीको फाँटामा भएको गहुँ तोरी र आलु देख्दा लोभ लाग्छ । कुनै दिन आफ्नो खेतमा यसैगरी गहुँ तोरी र आलु देहेर उहाँ दंग पर्नुहुन्थ्यो । मेलम्ची नदीमा आएको बाढीले उहाँको दस रोपनी खेत बगर बनाएको छ । धान र मकै गरेर वर्षमा तीन बाली भित्राउनुहुन्थ्यो । तर अहिले बगर हेरेर चित्त बुझाउनु परेको छ । उहाँको खेत, बाढीले नामोनिशानै मेटाएपछि उहाँ मजदुरी काम गरेर जीवन निर्वाह गर्न बाध्य हुनुभएको छ । राहतको नाममा केही नपाएको दुखेसो गर्दै भण्डारीले सरकार हाम्रा लागी नभएको वताउनुभयो ।

त्यस्तै रामबावु सापकोटा यति बेला निकै चिन्तामा हुनुहुन्छ । वर्षभरि गुजारा चलाउने खेत बाढीले बगरमा परिणत भएपछि उहाँ परिवारको गाँसको जोहो कसरी गर्ने भनेर रुनुहुन्छ । सात परिवारलाई वर्षभरी खाना पु¥याएर २५ मुरी जति चामल बेचेर आम्दानी गर्दै आउनुभएका उहाँको एक्कै रातमा सोर रोपनी घरखेत बाढीले बगाएपछि उहाँको परिवारले सुकुम्बासी जीवन विताउनुपर्ने बाध्यता आइपरेको छ । उहाँको घरपनी वाढीले वगाएपछी टहरामा वस्दै आउनुभएको छ । अन्यको घर सँस्थाले वनाईदिएपनी आफ्नो नवनाएकोमा चिन्तामा हुनुहुन्छ ।
चनौटे वजारमा वाढीले पुरेर बगरबीचमा बसेको पहेँलो रङको घर केशर पण्डितको हो । घर पुरेको सात महिना बढी बितिसकेको छ तर उहाँ त्यो घर पन्छाउन सकिन्छ कि भन्ने आशले हरेक दिन त्यही घर हेर्न पुग्नुहुन्छ । पुरिएको घर के सफा गर्न सकिन्थ्यो ? सकिदैन । उहाँको मनले पत्याउन भने मानेको छैन ।
केशरजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहानबेलुकै घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ । आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको ।
हेलम्बु मेलम्ची बाढी पिडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न सम्झौता भएपनि काम नभएको बताउनुभयो । साथै, सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको भण्डारीको आरोप छ । भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न फागुन ३० गते तालामाराङमा संघर्षका कार्यक्रम घोषणा गरिने समेत जानकारी दिनुभयो ।
फागुण २३ गते –पत्रकार सम्मेलन, फागुण २४ गते–सर्वपक्षिय छलफल, फागुण २५ गते–पत्रकारसहितको टोलिद्वारा स्थलगत अवलोकन एवं रिपोर्टिङ र्गो काम समेत सम्पन्न भईसकेको उहाँले जानकारी दिनुभयो । फाल्गुण २६,२७ र २८गते–उच्चस्तरीय प्रशासनिक एवं राजनितिक भेटघाट, फागुण २९ गते – सरोकारवाला –प्रभावित एवं पीडितहरु बिच अन्तरसंबाद, फागुण ३० गते –आयोजना प्रभावित,बाढी पीडीतहरु,४ वटा पालिकाका सम्पुर्ण जनप्रतिनिधी,गाउँ सामुदायिक समितीसम्बद्व पदाधिकारी बृहत् भेला तथा अन्तर्क्रियाका साथ थप संघर्षका कार्यक्रम घोषणा (स्थान ः–तालामाराङ) र चैत १ गतेबाट मेलम्ची आयोजनाको सम्पुर्ण काम अनिश्चितकालीन बन्द गर्ने सरोकार समितिले चेतावनी समेत दिएको छ ।
चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने समितिले जानकारी दियो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन सरकारलाई चेतावनी दिएको छ । पहिरो र बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै २ सय १८ जना विस्थापित भएका छन् । बाढीले घरमा क्षति पु¥याएकाहरु विस्थापित बनेका हुन् । ५६ पक्की घर र ७१ कच्ची घर गरी १२७ घर बाढीले बगाएको छ । अझै १२० घर बाढीको जोखिममा छन् । त्यस्तै ३२ गोठ बगाएको छ ।
झोलुंगे पुल ६ वटा र पक्की पुल तीन वटा बगाएको छ । त्यसैगरी सातवटा सरकारी भवन बगाएको छ । त्यस्तै, वडा कार्यालयहरु र विद्यालयमा समेत बाढीले क्षति पुर्याएको छ । हेलम्बुमा रहेका ८ वटा माछा फर्म बगाएको छ । सोही बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म पनि बाढीले बगर बनाएको छ । रिसोर्ट समेत सञ्चालन गगर्नुभएका खड्काको डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताउनुहुन्छ । भौतिक संरचना मात्रै डेढ करोडको क्षती भएको उहाँको उत्पादीत माछा र जग्गा समेतको मुल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्न जान्छ ।
ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा आफूहरू व्यवसायमा फर्कन सक्ने अवस्था नरहेको खड्का बताउनुहुन्छ । पर्यटकको प्रमुख आकर्षण रहेको मेलम्ची र इन्द्रावती करिडोरमा रहेका आँठवटा माछा फार्मको नाम निशान मेटाएको छ । हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो ।
लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ ।

हेलम्बु र मेलम्चीमा भएका आठ वटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । हेलम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निभाएको ट्राउट फार्म नष्ट हुँदा सम्वृद्ध हेलम्बुको सपनामा समेत असर परेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार विस्थापतिहरुलाई पुनःस्र्थापित गराउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाढीका कारण मेलम्ची नगरापलिका र हेलम्बु गाउँपालिकामा गरी पाँचसय बढी घर विस्थापित भएका छन् । नगरापलिका र गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकका आधारमा यी घरपविारलाई आवासको व्यवस्थापनका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभएको छ ।