रुपक पुरी
२०७८ असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजन ईन्जिनियर पदम बहादुर कुँवरले जानकारी दिनुभयोे ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुँगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत कुँवरले जानकारी दिनुभयो ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ, बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुँगा माटो सफाइको काम सकिएकाले चैतसम्म पानी आउने समितिले जनाएको छ ।
गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर वर्खा लागैसँगै फेरी चार महिना सुरुङ बन्द गर्नुपर्ने अबस्था रहेको डिभिजन ईन्जिनियर कुँवरले बताउनुभयो ।
मुख्य प्रवेशमार्गमै ठुलो पहिरो गएकाले एडिविले पहिरो रोकथामका लागी अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । सुरुङमा थुुपारीएको ६० हजार मेट्रीक टन ग्रेगान माटो हटाई सकिएको बताउँदै कुँवरले ब्लाष्टीङको अन्तिम चरणमा पुगेको बताउनुभयो । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पीङ गरेर ब्यवस्थित गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, नदी नियन्त्रणको काम सिँचाइ विभागलाई दिइएको छ भने सडक र पुल निर्माणको काम सडक विभागलाई दिइएको छ ।
सिँचाइ विभागले नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइरहेको छ । मेलम्चीको माथिल्लो भाग भ्रेमाथाङको अध्ययन गरिरहेको विज्ञ टोलीसँग समन्वय गरिरहेको छ । मेलम्चीका आयोजना क्षेत्रमा ६ वटा मोटरेबल पुल थिए । तीमध्ये तीन वटा मोटरेबल पुल बनेका छन् । बाँकी तीन वटा बन्न बाँकी छ । ‘ती पुल अहिले अस्थायी रूपमा बनाइएका छन्, स्थायी रूपमा बनेको छैन,’ डिभिजन ईन्जिनियर कुँवरले भन्नुभयो ।
गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ । त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ ।
