इन्द्रावती गाउँपालिकाले आज विभिन्न योजनाहरूको अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं ९,१०, ११ र १२ का ८ वटा योजनाहरूको अनुगमन भएको हो । अनुगमनको क्रममा वडा नं ९ को २ वटा योजनाको अनुगमन भएको छ । भोटसिपामा रहेको ऐतिहासीक रानी ओडारको संरक्षण र प्रवर्द्वनको काम भईरहेको छ । यस बर्ष १८० मिटरको सिँडी निर्माणको लागि गाउँपालिका बाट ४० लाख बजेट बिनियोजन भएको छ । इन्द्रावती ९ मै १३ घरधुरी लाभान्वित हुनेगरी अमले पदमार्ग निर्माण भएको वडा अध्यक्ष बाबुराम लामाले जानकारी दिनुभयो । यस्तै वडा नं १० को बुढीचौर बस्ती बिकास आयोजना र धारापानी पर्खाल निर्माण आयोजनाको काम समेत अनुगमन भएको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिनुभयो । वडा नं १० कै महादेवटार सिंचाई आयोजनाको पनि अनुगमन सम्पन्न भएको छ । महादेबटारमा ५६७ मिटर लामो सिंचाई कुलो बनेको हो । २० लाख रूपैयाँमा सम्पन्न भएको योजनाले ७५ घरधुरी लाभान्वित हुने र ३०० रोपनी जमिन लाई पर्याप्त पानी पुर्याउन सकिने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो । ईन्द्रावती ११ मा इन्द्रावती नदी नियन्त्रणको लागि ग्याविन जाली समेत राखिएको छ । गाउँपालिकाको २० लाख बजेटमा ग्याविन निर्माण भएको हो । यस्तै इन्द्रावती १२ को ऐतिहासिक ढुङ्गे धारा निर्माणको पनि आजै अनुगमन भएको छ । १० लाख बजेटमा निर्माण भएको उक्त योजनाले पानीको मुल संरक्षण हुने वडा अध्यक्ष कमल रत्न दनुवारले जानकारी दिनुभयो । १२ महिना पानी आउने भएकाले पनि उक्त धारोलाई ऐतिहासीक भनिएको दनुवारले बताए । उक्त धारो बाट १०० घरधुरी लाभान्वित हुने छ । धाराको वरिपरि २ कोठाको प्रतिक्षालय भवन, २ वटा धारो र शिव लिङ्क १ वटा रहेको छ ।हालसम्म गाउँपालिकामा ५० प्रतिशत काम सम्पन्न भएको इन्जिनियर राजाराम घोराशैनीले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्माको नेतृत्वमा भएको अनुगमनमा इन्जिनियर राजाराम घोरासैनी, प्राविधिक सहदेव गौतम र सुरज कार्की , रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
