मेलम्ची नगरपालिकाको आयोजनामा भएको सहकारी व्यवस्थापन सम्बन्धी तालिम आइतबार आज सम्पन्न भएको छ । तालिममा महिला सहकारीका ३० जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन गर्दै नगर प्रमुख डम्बर अर्यालले सहकारीहरु बचत समूहजस्तो मात्र देखिएकाले सहकारीको उद्देश्यअनुसार सञ्चालन गर्नका लागि आग्रह गर्नुभयो । सहकारीहरुले आर्थिक गतिविध गर्दा शेयर सदस्यहरुको जीवनस्तरमा सुधार आउनुपर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा सहकारी शाखाका प्रमुख सोम थोकरदे मेलम्ची नगरपालिकाले सहकारी प्रर्वधनका लागि नगरपालिकाले गर्दै आएको कामका बारेमा जानकारी गराउनुभयो । उहाँले केहि नितिगत समस्या भएमा नगरपालिका आएर आफ्नो समस्या राख्न अनुरोध गर्दै समस्या समाधानका लागि आफुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कुवेर निरौलाले तिन खम्बे अर्थनिति अनुसार सरकारले खम्बा मात्र बनाएको सहकारीलाई अगाडि बढाउन उल्लेख्य सहयोग नगरेको उल्लेख गर्दै निति र कानुन अनुसार अधिकार दिएर सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । तालिममा वडा नं. १, ३, ५, ६, १० र ११ को छ वटा महिला सहकारी र समूहको सहभागिता रहेको अम्बिका डोटेलले जानकारी दिनुभयो । बाँकि वडाको लागि सोमबार बाट फेरीपनि तालिम सञ्चालन हुनेछ ।
