सम्पर्क

मेलम्ची बाढीको सात महिना– विस्थापित अझै अस्थायी टहरामा

गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धनकोक्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन ।
विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो ।
बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार विस्थापतिहरुलाई पुनःस्र्थापित गराउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाढीका कारण मेलम्ची नगरापलिका र हेलम्बु गाउँपालिकामा गरी पाँचसय बढी घर विस्थापित भएका छन् । नगरापलिका र गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकका आधारमा यी घरपरिवारलाई आवासको व्यवस्थापनका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभएको छ ।
विस्थापित भएका मध्ये घर बनाउनका लागि जग्गा जमिन भएका घरपरिवारका लागि पाँच लाख र जग्गा नै नभएकाका लागि भने थप तीन लाख उपलब्ध गराइने प्रजिअ खनालले बताउनुभयो । ‘विस्थापित भएका परिवारका लागि पुनःस्र्थापना गराउनका लागि हामी लागिरहेका छौँ । भोली सोमबार बस्ने जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले यसको निर्णय गर्छ ’उहाँले भन्नुभयो ‘पहिलेको ठाउँमा स्थायी बस्ती विकास गर्न नसकिने देखिएकाले कुन ठाउँमा बस्ती विकास गर्ने भन्ने निर्णय गर्ने छ ।’
यता मेलम्ची नगरापलिकाले पनि आफ्नो नगरपालिका भित्रका विस्थापित घरपविारको विवरण उपलब्ध गराएको जनाएको छ । नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालका अनुसार विस्थापित परिवालाई पहिले खाध्यान्न र अन्य खर्चका लागि २५,२०,१५ र १० हजारका दरले चार चरणमा राहत उपलब्ध गराएको बताउनुभएको छ । कतिपय नागरिक कोठा भाडामा पनि बसेका कारण उनिहरुको भाडा पनि नगरपालिकाले तिरिदिएको उहाँको भनाइ छ । मेलमची नगरपालिकामा २५२ घरपरिवार विस्थापित भएको उहाँको भनाइ छ ।
मेलम्ची नगरपालिकाले स्थापना गरेको “मेलम्ची बाढी पिडित तथा राहत तथा पुनःस्र्थापना कोष”मा अहिलेसम्म झण्डै पाँच करोड रकम संकलन भएको अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिका भित्रका विस्थापितका लागि आवासका लागि भौगर्भिक टोलिले दिएको निर्देशनकै आधारमा बस्तीको विकास गरिने उहाँको भनाइ छ । अध्ययन प्रतिवेदन नआइसकेकाले कुन क्षेत्र जोखिम छ,कुन छैन भन्न नसकिने अर्याले बताउनुभयो ।
यता, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिका भित्रका करिब तीन घर विस्थापित भएको बताउनुभएको छ । कतिपय विस्थापित अहिले पनि टहरामै रहेको र कतिपय आसपासका घरमा भाडामा बसिरहेको बताउनुभएको छ । विस्थापित परिवारलाई बर्षा लाग्नुभन्दा अघि नै पुनःस्र्थापित गराउनुपर्ने उहाँले बताउनुभयो । आवास निर्माणको लागि प्रत्येक घरपरिवारलाई पाँच लाखले मात्र नपुग्ने भएकाले त्यसमा थप रकम प्रदेश र केन्द्र सरकारले पनि उपलब्ध गराउनुपर्ने उहाँको तर्क छ । पाँच लाख रकम मध्ये पनि केन्द्र सरकारको ६० ,प्रदेशको २५ र बाँकी १५ प्रतिशत स्थानीय सकरारको रकम रहेको छ ।
स्थानीय सरकारले मात्र बाढीले विस्थापित घरपरिवाको पुनःस्र्थापना गर्न नसक्ने भएकाले प्रदेश र केन्द्र सकारले सहयोग अपरीहार्य रहेको उहाँले बताउनुभयो । बाढीले क्षति पुर्याएको क्षेत्रमा अहिले मानिसहरु बालुवा हटाएर बसे पनि त्यो क्षेत्रमा स्थायी आवास भने निर्माण नगरिने उहाँ बताउनुहुन्छ । भौभर्गिक टोलीले दिएको निर्देशनका आधारमा विस्थापित परिवारलाई पुनःस्र्थापित गरिने शेर्पाको भनाइ छ ।